• बुधबार , कार्तिक ७, २०८१

कैयौँ दुःख झेलेका केसी अहिले स्वादेशमै मासिक रु दुई लाखसम्म आम्दानी गर्दै…

BySANU

Oct 13, 2023

घोराही, २६ असोज । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले विसं २०७१ बाट सुरु गरेको पशुपालन व्यवसायले राम्रो आम्दानी दिएको बताए । उनी बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आएकाछन् । पैतालीस वर्षीय केसी तीन वर्ष घरको कमजोर आर्थिक अवस्था सुधार्ने विचारले मलेसिया रोजगारीका लागि गए । मेलेसियाबाट फेर्केपछि फेरि उनी रोजगारीकै लागि भारत पनि गए । त्यहाँ पनि उनले सोचे अनुसारको कमाउन सकेनन् । त्यसकारण उनीसँग वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ । केसीले स्वदेशमै केही गर्नुपर्छ भनेर थालेको पशुपालन व्यवसायले आम्दानीसँगै तीन-चार स्थानीय युवालाई रोजगारी दिएकाछन् । उनको फार्ममा १८ भैँसी र तिनका पाडापाडी छन् । उनले केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघरमा पु¥याएर फुटकर बेच्छन् । यही कामबाट आफूले मासिक रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनले प्रतिलिटर रु एक सयमा दूध बेच्ने गरेकाछन् । केसीले आफनै जग्गामा मौसम अनुसार घाँस लगाएका छन् । उनले पराल र भूस पनि आफ्नै जग्गाबाट उत्पादन गर्छन् । मोटरसाइकलमा दूधका क्यान बोकेर हिँड्दा ट्राफिक प्रहरीले समाउने गरेको उनले बताए । उनले हालसम्म कतैबाट अनुदान नपाएको पनि बताए । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनको धारणा छ । वास्तविक किसानले अझै पनि अनुदान पाउन नसक्ने समस्या कायम रहेको उनले बताए । 

Spread the love

Leave a Reply

Your email address will not be published.