• बुधबार , कार्तिक ७, २०८१

विद्यार्थी पढ्दै, कमाउँदै कार्यक्रम अन्तर्गत कुखुरापालनमा रमाउँदै…

BySANU

Oct 21, 2023

तनहुँ, ४ कात्तिक ।  आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले जानकारी दिए । सुरुमा कुखुराका चल्ला र दाना खरिदमा करिब रु एक लाख ३५ हजार खर्च भएको छ । खर्च कटाएर रु ३० देखि ४० हजारसम्म मुनाफा लिन सकिने योजना रहेको उनले बताए । विद्यालयमा हाल एक सय २५ विद्यार्थी अध्ययनरत छन्, उनले भने, कक्षा ९ र १० का ४१ विद्यार्र्थीमध्ये करिब २० जना विद्यार्थी कुखुरापालनमा छन् ।
गाउँपालिकाबाट प्राप्त अनुदानलाई आयमूलक क्षेत्रमा लगानी गरी कोष वृद्धि गर्दै जाने योजना छ । हप्तामा एक दिन विद्यार्थीको पालो आउने गरी कार्यविभाजन गरिएको छ । यस विद्यालयबाट एसइई पास गरेर अन्य विद्यालय जाँदा प्राविधिक धार र व्यावसायिक धारमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आधारभूत तहबाट प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गरेको हो । विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल रहेको छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको सो विद्यालयले जनाएको छ । कुखुरापालनबाट आएको मुनाफाबाट केही रकम विद्यालयका लागि र विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम प्रदान गर्ने योजना रहेको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिए ।

Spread the love

Leave a Reply

Your email address will not be published.