• बुधबार , कार्तिक ७, २०८१

खेती र फार्म सञ्चालनमा मजदुर पाइन छाडे…

Byashesh

Oct 30, 2022

म्याग्दी, १३ कात्तिक । दसैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ । तीस हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको म्याग्दीमा हाल एक तिहाइभन्दा कम १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती हुन्छ । जनशक्ति पाइन छाडेपछि अर्म, पर्म, हुड्डा लगाएर खेतीबाली लगाउने, गोडमेल र भित्र्याउने चलन हराएको बेनी नगरपालिका–२ बाङ्गेराका कृषक वीरेन्द्र किसानले बताए । गाउँमा वृद्धवृद्धा, महिला, बालबालिका मात्रै भेटिन्छन् । रोजगारीको खोजीमा युवा जनशक्ति बाध्यताले विदेशिने अवसर र सुविधाको खोजीमा सहरतर्फ केन्द्रित हुने तथा सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिएर झाडी र जङ्गलमा परिणत हुन थालेका छन् । पछिल्लो जनगणनाअनुसार म्याग्दीको जनसङ्ख्या १० वर्षको अवधिमा छ हजारले घटेर एक लाख सात हजार भएको छ । २५ देखि ३० हजार जनसङ्ख्या विदेशमा छन् । खेती कार्यमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि यन्त्र उपकरणको प्रयोगमा जोड दिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । कम श्रम र लागतमा गर्न सकिने फलफूल तथा नगदे बालीको खेती गरेर बाँझो जमिनलाई प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । बाँझो जमिनमा खेती गर्नेलाई अनुदानकोसमेत व्यवस्था मिलाएको सिग्देलले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.