• बुधबार , कार्तिक ७, २०८१

रातो च्याउ र गोल्डेन स्याउले फेरिँदै गुर्जाको परिचय

Byashesh

Jan 7, 2023

गलेश्वर, २३ पुस । म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा छ । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । उनका अनुसार गुर्जामा इटालियन जातको उच्च घनत्वको स्याउका बिरुवा काठमाडौं देखि लगेर रोपिएको छ । गुर्जागाउँ पुग्न म्याग्दीको लुलाङ, मुदी गाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीन वटा बाटो रहेका छन् । यी सबै बाटोमध्ये जुनबाट यात्रा गरे पनि जङ्गलको बाटो यात्रा गर्नुपर्दछ । गुर्जा गाउँ पुगेपछि पर्यटक ढोरपाटन पुग्ने गर्दछन् । ढोरपाटनमा सिकार आरक्ष रहेको छ । धौलागिरि हिमशृङ्खलाको सेरोफेरोमा यो आरक्षले प्रत्येक वर्ष हजारौँ पर्यटकलाई आकर्षण गराएको छ । बजारमा अतिस जडीबुटीको माग उच्च रहेकाले गुर्जामा यसको व्यावसायिक खेती थालिएको किसान समूहले जनाएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा अवस्थित गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिए । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो ।

Spread the love

Leave a Reply

Your email address will not be published.