• बुधबार , कार्तिक ७, २०८१

रित्तिए बङ्गुर फार्म…

Byashesh

Jan 11, 2023

म्याग्दी, २७ पुस । महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुसको दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको प्रकृति एण्ड प्रशंसा बङ्गुर फार्मका सञ्चालक कृष्ण विकले १२ फार्म अफ्रिकन स्वाइन फिवरको महामारीले रित्तिएको बताए । “दस वर्षदेखि बङ्गुर पाल्दै आएको थिएँ, यस्तो महामारी कहिल्यै आएको थिएन्”, उनले भने, “यसपालि मेरो फार्ममा मात्र रु ३० लाख मूल्यका ६० बङ्गुर मरे, एउटा पनि बाँकी रहेन ।” सबै फार्ममा रु दुई करोड मूल्य बराबरको क्षति भएको विकले बताए ।  बेनी बजारका घर तथा होटलमा बढी भएर फाल्ने गरिएको खाना बङ्गुरलाई दानाका रूपमा खुवाउने गरिएको थियो । बङ्गुर फार्म लैजान छाडेपछि घर तथा होटलमा बढी भएको दाल, भात, तरकारीको व्यवस्थापन गर्न समस्या भएको बजारवासीले बताएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । यही पुस ११ गते यहाँका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बेनीको अग्निखेत र अन्नपूर्ण गाउँपालिकाको नौलीबगरमा अफ्रिकन स्वाइन फिवरबाट दुई सय ७५ बङ्गुर मरेका बताए । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा भारत, चीन र भूटानमा देखिएको यो रोग नेपालमा गत वर्षको चैतमा काठमाडौँमा देखिएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published.