• बुधबार , कार्तिक ७, २०८१

लखपति बने किसानहरू बगरे खेतीबाटै…  

Byashesh

Apr 23, 2023

दाङ,  १० वैशाख । बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल पनि बनाएका छन् । बलरामपुरको  दक्षिणतर्फ भएर बगेको राप्तीको उत्तरतिरको बालुवाले भरिएको जमिन अहिले हरियाली भएको छ । हेर्दा बालुवामाथि फलेको देखिने खरबुजाले त्यहाँका ग्राहक मात्र होइन त्यो बाटो भएर हिँड्ने सबैलाई लोभ्याउने गरेको छ । बलरामपुर गाउँका अरू दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरुले बेमौसमी तरकारीको पनि खेती गरेका हुन् । उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन् । बस्ती नभएको यस ठाउँमा गरिएको खेती चोरी हुने डरले प्रत्येक किसानले त्यहाँ फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको ठाउँमा तल बालुवा भएकाले त्यहाँ निकै तातो भए पनि फुसको घरमा  रातको समयमा सुत्ने गरेका छन् । लमही नगरपालिका–४ की ३७ वर्षीय माया चौधरी पनि बगर खेतीले नै आफ्नो घरपरिवार पाल्न सफल भएको बताउँछिन् । राप्ती नदीले बितण्डा मच्चायो, आफूहरुको धान हुने खेत सबै बगाएर बगर बनायो । अहिले त्यही बगरलाई हामीले मिहेनत गरेर तरकारी बारी बनाएका छौँ । खरबुजा र तरकारीको उत्पादन राम्रै छ तर बजार पाउन सकेका छैनौँ, उनको गुनासो छ । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका केही किसानले व्यक्तिगत रुपमा र दुई हजार १८ जना किसानहरुले एक सय दुईवटा समूह बनाएर सामूहिक रुपमा बगरमा तरकारी खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.