• बुधबार , कार्तिक ७, २०८१

लोभलाग्दो कौशी खेती घरकाे छतमा…

Byashesh

Apr 24, 2023

रुपन्देही,  ११ वैशाख । खाली जग्गा र करेसाबारी नभएपछि तरकारी खेती गर्न चाहे पनि कहां गर्ने ? तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै अब घरको छतमै मज्जाले कौशी खेती गरेर तरकारी फलाउन सकिन्छ । यसको उदाहरण बनेकी छन् रुपन्देहीको तिलोत्तमा-५ की सावित्रा भण्डारी । २९ वर्षीया सावित्राले घरको छतमा लोभलाग्दो कौशी खेती गरेर धेरैको वाहवाही बटुलिरहेकी छन् । छतभरि बन्दागोभी, फूल गोभी, गोलभेँडा, सिमी, खुर्सानी, रायो साग, भान्टा, लसुन,प्याज,कुरिलोलगायतका तरकारी लटरम्म फलेको देख्दा जो कोहीको मन लोभिन्छ । तरकारीसँगै उनले विभिन्न जातका फूल, मरौटी, घ्यूकुमारी जस्ता जडिबुटी पनि हुर्काउन भ्याएकी छन् । सावित्राले घरको छतमा गरेको कौशी खेती हेरेर अनुशरण गर्न दिनहुंजसो आसपासका ठाउँबाट गृहिणी र अरुको भीड लाग्ने गरेको छ । कोरोना महामारीका कारण गतवर्ष भएको लामो लकडाउनमा फुर्सदिलो भएर घरमै बस्नुपर्दा सावित्राले युट्युबमा हेरेर कौशी खेतीतर्फ आकर्षित भएकी हुन् । ‘युट्युबमा हेरेर सिकेकी हुँ,खाली बस्नुभन्दा घरमै केही गरौं भनेर मेहनत गरेको राम्रो भयो, अब कौशीखेतीलाई ब्राण्ड बनाउँछु,’ सावित्राले भनिन्, ‘दिनमा सरदर १०-१५ जनाका दरले कौशी खेती हेर्न आउनुहुन्छ,धेरैजसोले कसरी गर्ने भन्ने सिकेर जानुहुन्छ ।’ मन्त्रीको सुझावअनुसार सावित्राले बुटवलमा कौशी खेतीका लागि आवश्यक पर्ने पोलिथिन ब्याग, गमला,मल, माटो र बीउ विक्रि गर्ने शोरुम सञ्चालन गर्ने र कौशी खेती तालिम तालिम दिंदै हिंड्ने योजना बुनेकी छन् । ‘खाली जग्गा र करेसाबारी नभएपनि छतमा तरकारी फलाउन सकिन्छ भन्ने अभियान चलाउँछु,’ सावित्रा भन्छिन्, ‘सहरका हरेक घरका छतमा तरकारी फलाउने हो भने विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र ब्यापार घाटा थोरै भए पनि घटाउन सकिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.