• बुधबार , कार्तिक ७, २०८१

वाणीवासी तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै…

BySANU

May 16, 2023

बेदकोट, २ जेठ । शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ । यहीँ भीडमा तरभुजा बिक्री गरिरहेको भेटिए, कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना । उनले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा तरभुजा खेती गरेकाछन् । “यो सिजनमा एक साता भयो तरभुजा बिक्री गर्न थालेको छ, अहिलेसम्म रु १५ हजारको बिक्री गरेँ”, उनले भने, “दैनिक रु एक हजारदेखि दुई हजारसम्मको बिक्री हुन्छ ।” अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढी तरभुजा बेचेर घर खर्च चलाइरहेका छन् । गत चैत अन्तिम सातादेखि जेठसम्म तरभुजा बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ । बङ्ककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरभुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्छन् । “सुरुमा घरमै खानलाई मात्रै तरभुजाको खेती गर्थेँ, राम्रो आम्दानी हुन थालेपछि सात–आठ वर्षदेखि व्यावसायिकरूपमा खेती गरिरहेको छु”, उनले भने, “बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ ।”माघदेखि बगरमा तरभुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तरभुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ । 

Spread the love

Leave a Reply

Your email address will not be published.