• बुधबार , कार्तिक ७, २०८१

वैकल्पिक बालीको रुपमा व्यावसायिक तरुलखेती…

BySANU

Aug 19, 2023

पर्वत, २ भदौ । बाँदर नियन्त्रणका लागि लाखौँ रुपैयाँ खर्च गरेर अभियान नै थाले पनि कुनै उपाय नलागेपछि बाली नै परिवर्तन गर्न थालिएको हो । मकै, धान, जौ, गुहुँजस्ता अन्नबाली लगाउँदा बाँदरले पुरै सखाप पार्न थालेपछि यस वर्षदेखि व्यावसायिक तरुलखेती गर्न थालिएको छ । अन्नबाली लगाउँदा लगानीअनुसारको प्रतिफल पाउन नसकेपछि स्थानीय कृषकले तरुलखेती सुरु गरेका हुन् । गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष धितालका अनुसार स्थानीय २० कृषक मिलेर समूह निर्माण गरी तालिम दिएपछि व्यावसायिकरूपमा तरुलखेती सुरु गरिएको हो । बढ्दै गएको बाँझो जग्गाको सदुपयोग गर्ने उद्देश्यले गाउँपालिका र कृषकले तरुलखेती गर्ने योजना बनाएर यस वर्षदेखि शुरु गरिएको हो । तरुल खेतीका लागि खाडल र मलको जोहो कृषकले गरे भने तरुलको बिउ  गाउँपालिकाले शत प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । गत चैतमा झन्डै १३ क्विन्टल तरुलको बीउ रोपिएको स्थानीय जङ्गबहादुर शाहीले जानकारी दिए । रातो तरुलको बिक्री सहज हुने पाइएपछि गाउँपालिकाले रातो तरुलको बीउ वितरण गरेको उनको भनाइ छ । यामका बेला रातो तरुलको रु ९० सम्ममा बिक्री भएको पाइएपछि कृषकलाई सेतोभन्दा रातो तरुल लगाउन आग्रह गरिएको हो । बाँझो जग्गामा एकपटक लगाएर छाडेपछि उत्पादन दिने भएकाले पनि यो खेती सहज हुने पालिकाले जनाएको छ । गाउँपालिकाले आव २०७४/७५ देखि २०७७/७८ सम्म बाँदर छोप्ने विज्ञ भारतबाट ल्याएर झन्डै तीन र चार सयको हाराहारीमा बाँदर छोपेर चितवन राष्ट्रिय निकुञ्जमा समेत पुर्‍ याइको थियो । बाँदरले तरुल खेतीमा कुनै असर गर्न नसक्ने भएकाले सोचेअनुसार प्रतिफल लिन सकिने अध्यक्ष ईश्वरीप्रसाद भुसालको विश्वास छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.