• बुधबार , कार्तिक ७, २०८१

तनहुँ मौरी चरन क्षेत्र बन्दै… 

BySANU

Aug 21, 2023

डुम्रे, ४ भदौ । मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरु बताउँछन् । तराई क्षेत्रमा तीनदेखि चार महिनासम्म अत्यधिक गर्मी बढ्ने भएकाले अन्यत्र चरन क्षेत्र खोज्नुपर्ने अवस्था रहन्छ । मौरीको उत्पादन राम्रो लिनका लागि उचित तापक्रमको पनि किसानले ख्याल गर्नुपर्ने हुन्छ । अत्यधिक गर्मीको समयमा चितवनभन्दा तनहुँमा गर्मी कम हुनु र फूलको विविधताले गर्दा चरनका लागि तनहुँ ल्याइने गरिएको भरतपुर महानगरपालिका–१ रामनगरस्थित मौरीपालक एवं प्रा डा खेमराज न्यौपानेले जानकारी दिए । तराईमा मह उत्पादनका लागि मौरीलाई वर्षमा दुईदेखि चार महिना चरन क्षेत्रको अभाव हुने गरेकाले तनहुँलाई चरन क्षेत्रका रुपमा यहाँ ल्याइने गरिएको उनले बताए । हाल नेपालमा यस प्रजातिका मौरी करिब ४० हजार जति रहेको बताइएको छ । चैत, वैशाख, जेठ र असार पहिलो सातासम्म तराई क्षेत्रका मौरीका लागि चरन क्षेत्र अभाव हुनेहुँदा यहाँ ल्याएर मह उत्पादनमा सहयोग पुर्याउने गरिएको मौरीपालक किसान तथा विज्ञ बताउँछन् । तराई क्षेत्रमा बढी गर्मी र चरन क्षेत्रको अभाव हुने समयमा तनहुँ चरन क्षेत्र बन्दै गएको हो । विशेषगरी तनहुँको भानु नगरपालिका–४ क्षेत्रमा मौरी राखिने गरिएको पाइन्छ । चरनका लागि मौरीलाई विभिन्न पहाडी क्षेत्रमा स्थानान्तरण गर्ने गरिएको छ । कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले तापक्रम बढी भएको अवस्थामा कटुस, साल, चिलाउने, खेतमा हुने मकै, चैते धानको फूल फुल्ने हुँदा यहाँ चरन क्षेत्र बनाइएको बताए । फूलको रसले मात्रै मौरीले मह बनाउने भएकाले फूलको विविधताका लागि विशेषगरी यहाँ मौरी स्थानान्तरण गर्ने र तराई क्षेत्रकोभन्दा यहाँको तापक्रम त्यस समयमा उपयुक्त हुने उनले बताए । तनहुँमा व्यावसायिकरुपमा मौरीपालन गरिरहेका किसानले यस्ता उपयोगी विषयको अवलम्बन गर्नुपर्ने उनले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.