• बुधबार , कार्तिक ७, २०८१

पशुपक्षीपालनमा कृषकको आकर्षण बढ्दो… 

BySANU

Aug 30, 2023

दमौली, १३ भदौ । तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको आकर्षण बढेको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक पशुपालनका लागि उपयुक्त भूबनोट तथा हावापानीले फार्म स्थापना बढ्दो क्रममा रहेको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । पशुपालनमा निजी क्षेत्रको बढ्दो सम्लग्नताको अवस्था छ । विदेशबाट फर्किएका युवा सीप, ज्ञान, पुँजी र उन्नत प्रविधिसहित यस क्षेत्रमा आकर्षित भएकाले व्यावसायिक पशुपक्षी फार्ममा उनीहरूको सहभागिता बढेको उल्लेख गर्दै प्रमुख श्रेष्ठले  जिल्लाका सम्पूर्ण क्षेत्रमा यातायात सुविधा, सुलभ ऋण, बीमा र नयाँ प्रविधिको उपयोग बढेकाले पनि फार्म स्थापनाका लागि  सहज भएको जानकारी दिए । हालसम्म जिल्लामा आठ सय ३४ गाई फार्म, एक सय चार भैँसी फार्म, तीन सय ३४ बाख्रा फार्म, ५७ बङ्गुर फार्म, ३५ लेयर्स कुखुरा फार्म, ६७ ब्रोइलर कुखुरा फार्म, २४ स्थानीय कुखरा फार्म, ७३ मत्स्य फार्म, एक सय १३ मिश्रित फार्म र तीन कालिज फार्म सञ्चालनमा छन् । भानु नगरपालिकामा मस्र्र्याङ्दी पोल्ट्री प्रालि, पुर्कोट पोल्ट्री फार्म, चन्द्रावती पोल्ट्री फार्म, खुकुरी एग्रो फार्म, महालक्ष्मी ब्रिडिङ्गस् फार्म, शुभलक्ष्मी ह्याचरी, वृहस्पति पोल्ट्री फार्म, ह्वाइट वर्ड एग्रो प्रालि, बन्दीपुरस्थित बन्दीपुर ह्याचरी प्रालि, शुक्लागण्डकी नगरपालिकामा तीनखोला एग्रो फार्म, फेवा ग्रुप अफ पोल्ट्री, म्याग्दे गाउँपालिकामा  पोखरा तनहुँ महिला एग्रो फार्म सञ्चालनमा छ । पशुपालनतर्फ किसानको आकर्षण बढेसँगै तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्लाबाहिर पनि निर्यात हुन थालेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा जिल्लामा ११८ दशमलव ५४ लिटर उत्पादन हुन्छ । यसैगरी ४८ वटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ वटा अण्डा उत्पादन भइरहेको छ । दूध २७ दशमलव ५४ लिटर, मासु शुन्ना दशमलव ४९ केजी र अण्डा ३४ दशमलव ५९ बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.