• बुधबार , कार्तिक ७, २०८१

बाँझो जग्गामा चिया खेती…

BySANU

Sep 10, 2023

त्रिशूली, २४ भदौ । नुवाकोटको ककनी गाँउपालिका–५ पर्यटकीय गन्तव्यको रुपमा रहेको ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ । नेपाल पर्वतारोहण सङ्घले भोगाधिकारको लागि सरकारसँग ‘लिज’ मा लिएको भए पनि लामो समयदेखि उपभोग विहीन रहेको बाँझो जग्गामा शुक्रबार  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चिया रोपण अभियानको शुभारम्भ गरेका हुन् । नुवाकोटको ककनी र नगरकोट सुन्दा उस्तै लाग्छ । त्यति मात्रै होइन भौगोलिक दृष्टिकोण, राजधानी नजिकैको उच्च भूभाग, ‘एग्रो एण्ड नेचुरल टुरिजम’ को लागि दुवै स्थान समान हैसियतमा छन् । मन्त्री किरातीले भने, ककनीमा पर्यटकीय गतिविधि चलायमान बनाउन सरोकारवालाबाट माग भएर आउने प्रस्तावनामा सरकारको तर्फबाट आवश्यक सहयोगको सुनिश्चित गरेर ककनीलाई नगरकोट सरह बनाउन प्रतिबद्ध हुनेछौँ । पर्यटकीय आकर्षण थलो ककनी हाइटमा विसं २०५२ मा नेपाल पर्वतारोहण सङ्घले सरकारसँग भोगाधिकार लिएको एक सय ४२ रोपनी जग्गा हालसम्म उपभोगविहीन भएपछि ककनी गाँउपालिकाले ‘पर्यटन प्रवर्द्धन तथा हारियाली चिया बगान निर्माण’ का लागि चिया रोपण अभियान सुरु गरेको हो । पर्यटकीय क्षेत्रको विकासको लागि चिया रोप्ने र हाल कायम रहेको पिकनिक स्पटलाई थप व्यवस्थित बनाउन पालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पहिलो प्राथमिकता दिएर लागेका छौँ । अध्यक्ष सुमन तामाङले भने, पर्वतारोहण सङ्घको नाममा भोगाधिकार भए पनि उक्त जग्गामा चिया खेतीको विस्तारसहित आधुनिक ‘पिकनिक’ स्थलको लागि शौचालय, खानेपानीलगायत पूर्वाधार विकास एवं विद्युत् सेवा विस्तारको लागि गाउँपालिकाले कार्ययोजना बनाएको छ । ककनी हाईटबाट देखिने हिमालका दृश्यहरूले पर्यटकको मनलाई आकर्षण गरे पनि यहाँसम्म पर्यटकलाई ल्याउन कठिनाइ भइरहेको छ । अध्यक्ष तामाङले भने, ककनीको ‘ब्राण्ड’ का रूपमा क्यानोनिङ प्रतियोगितासमेत हुने गरेको फुङ्गफुङ्गे झरना, ट्राउट माछा, किबि, स्ट्रबेरी, मुलालगायत कृषि खेतीको पहिचान जोगाउन काठमाडौँबाट आउने पासाङल्यामु राजमार्ग समयमा नबन्दा त्यसको असर सबै क्षेत्रमा परेको छ।

Spread the love

Leave a Reply

Your email address will not be published.