• बुधबार , कार्तिक ७, २०८१

कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन तालिम…

BySANU

Sep 28, 2023

काभ्रेपलाञ्चोक, ११ असोज । धुलिखेल नगरपालिकाको कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन महिलालाई तालिम दिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग छमहिने सम्झौता गरेको थियो । सम्झौतामा जापानका विभिन्न १० कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइने र रोजगारीमा सिकेको सीपलाई प्रयोग गरी धुलिखेलमा जापानिज प्रविधिमा कृषि उत्पादन तथा सिकाइ गर्नुपर्ने उल्लेख गरिएको छ । सोहीअनुसार जापानिज भाषा तथा सीप कक्षाको गत वैशाखदेखि सुरुआत गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने भएकाले प्रारम्भिक चरणमा स्थानीय युवा महिलालाई कक्षा सञ्चालन गरेका हौँ, उनले भने । नगरप्रमुख ब्याञ्जूका अनुसार जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्ने छ । नगरको कृषि तथा पशुपालन व्यवसायलाई निकट भविष्यमा आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन महिलालाई गुणस्तरीय जापानिज भाषा (एन–४ लेभल सम्मको) तथा आवश्यक सीप सिकाइमा कक्षा सञ्चालन गरेको हो । बीस वर्ष पूरा भई ३० वर्ष ननाघेका कृषि तथा पशुपालनमा संलग्न भएका परिवारको सदस्यलाई हाल भाषा तथा सीप प्रदान गरिरहेको उनले बताए । नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले बेलायतको संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.